तीनपाटन कृषि तथा उद्यमशील सहकारीको साधारण सभा तथा अधिवेशन सम्पन्न
बेलघारी/ तीनपाटन कृषि तथा उद्यमशील सहकारी संस्था लिमिटेड, तीनपाटन–१ बेलघारी, सिन्धुलीको सातौँ वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ ।
सहकारीका अध्यक्ष चित्रा रानाको अध्यक्षतामा सम्पन्न कार्यक्रम तीनपाटन गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष गोविन्द बहादुर राउतको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा महाकाली कृषि तथा उद्यमशील सहकारी संस्था, तीनपाटन–२ भीमस्थानकी अध्यक्ष मञ्जु विक, ई.प्र.का. बेलघारीका इन्चार्ज किशोर प्रसाद यादव, विभिन्न महिला समूहका प्रतिनिधि, सहकारीका सेयर सदस्य तथा स्थानीय महिलाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि वडा अध्यक्ष गोविन्द बहादुर राउतले महिलाहरूलाई व्यावसायिक तथा उद्यमशील बन्न आह्वान गर्दै आयआर्जन वृद्धि गर्ने उद्देश्यले स्थानीय सरकारले सञ्चालन गरिरहेका विभिन्न कार्यक्रमहरूमा सक्रिय रूपमा सहभागी हुन आग्रह गरे । उनले भाग्यश्वरी बचत तथा ऋण सहकारी संस्था बेलघारीमा लामो समयदेखि देखिएको विवादका कारण उत्पन्न जटिल अवस्थाबारे पनि जानकारी गराए । शेयर सदस्यहरूको चाहना अनुसार बचत फिर्ता गर्ने क्रममा सहकारीकै सदस्यहरूद्वारा अदालतमा मुद्दा लडिएको र त्यसको खर्च सहकारीबाट माग गरिएको विषयले समस्या सिर्जना भएको उनले जानकारी गराउदै सचेतता अपनाउन सबैलाई आग्रह गरे ।
कार्यक्रमकी अध्यक्ष चित्रा रानाले सहकारी कार्यालय भाडाका कारण आर्थिक भार बढेकाले भवन व्यवस्थापनका लागि स्थानीय सरकारसँग सहयोगको आग्रह गरिन । उनले आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तावित नीति तथा कार्यक्रम प्रस्तुत गरिन । कोषाध्यक्ष लोकमाया तामाङले आर्थिक वर्ष २०८१/८२ को आय–व्यय विवरण प्रस्तुत गरिन भने लेखा समिति संयोजक गीता हायुले सहकारीका सबल पक्ष र सुधार गर्नुपर्ने क्षेत्रबारे धारणा राखिन ।
कार्यक्रमका अवसरमा सहकारीमा उल्लेखनीय योगदान पुर्याउने विभिन्न व्यक्तिहरूलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरूमा ज्येष्ठ नागरिक गीतामाया मगर, उत्कृष्ट बचतकर्ता सीतामाया तामाङ, उत्कृष्ट सेयरधनी मंगलीमाया तामाङ, असल ऋणी धना राना, सक्रिय समूह ‘सयपत्री समूह’ बेलघारीकी कल्पना आचार्य तथा बाल बचतकर्ता पल्मिसा पाख्रिङ रहेका छन् । त्यसैगरी अधिवेशनबाट केही निष्क्रिय कार्यसमिति सदस्यहरू परिवर्तन गर्दै पुनः चित्रा रानाकै अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ ।
भर्खरै
सिद्धस्थली स्कुलद्वारा विपद् राहतमा १ लाख २२ हजार सहयोग
बाढी पहिराे प्रभावित बालबालिकालाइ बालक्लब सहयाेग
सूर्योदय बोर्डिङ स्कुलद्वारा बाढीपीडितका लागि सहयोग
बाढी पिडितलाई नेपाल वन पैदावर व्यवसायी संघ सिन्धुलीद्धारा, ३ लाख र ३५० थान झ्यालढोका सहयोग
भोटेकोशी बाढीपहिरो पीडितलाई साइनिङमुन एकेडेमीको सहयोग
३७ सेवाग्राहीले पाए जग्गाधनी प्रमाणपुर्जा
फिक्कलमा भूमि व्यवस्थापन शाखा स्थापना, भूमि प्रशासन सेवा सुरु




प्रतिकृया दिनुहोस