Close This

अलपत्र रानीदरबार,निर्माणमा ताकेता कसले गर्ने ?

सिन्धुली/ऐतिहासिक तथा गौरवपूर्ण सम्पदा सिन्धुलीगढीस्थित रानीदरबार (गढी दरबार) पुनर्निर्माणको अन्तिम चरणमा पुगेर अलपत्र बनेको छ । करिब चार करोड ३९ लाख रुपैयाँको लागतमा पुनर्निर्माण सुरु भएको दरबार निर्माणको अन्तिम चरणमा पुगरे अलपत्र अवस्थामा पुगेको छ । 
वर्षौंदेखि भग्नावशेषमा सीमित रहेको यो ऐतिहासिक सम्पदा पुनः आफ्नो स्वरूपमा फर्कनु निश्चय नै सुखद पक्ष हो। तर पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेर अलपत्र हुन भनेको दुःखद र गम्भिर बिषय हो । निर्माण सम्पन्न भएपछि यसको संरक्षण, व्यवस्थापन र प्रभावकारी उपयोगको जिम्मेवारी कसले लिने ?
सिन्धुलीगढी नेपालको राष्ट्रिय इतिहाससँग प्रत्यक्ष जोडिएको स्थल हो। यही भूमिमा नेपाली सेनाले विसं १८२४ कात्तिक २४ गते अङ्ग्रेज सेनालाई पराजित गर्दै नेपालको सार्वभौमिकता र राष्ट्रिय अस्मिता जोगाएको इतिहास छ। श्रीहर्ष पन्त, वंशराज पाण्डे र वंशु गुरुङको नेतृत्वमा भएको उक्त युद्ध नेपालको वीरताको अमिट गाथाका रूपमा आज पनि स्मरण गरिन्छ। त्यसैले सिन्धुलीगढी केवल एउटा पुरानो दरबार वा भवन मात्र होइन, यो राष्ट्रको गौरव, इतिहास र पहिचानसँग जोडिएको जीवित सम्पदा हो।
इतिहास अनुसार तत्कालीन श्री ३ महाराज जङ्गबहादुर राणाका भाइ बमबहादुर राणाका छोरा बमवीर विक्रम राणाले निर्माण गराएको गढी दरबार लामो समयसम्म पूर्वी क्षेत्रको प्रशासनिक केन्द्रका रूपमा प्रयोग भएको थियो। २०२० सालमा जिल्ला सदरमुकाम सिन्धुलीमाढी सारिएपछि दरबार क्रमशः ओझेलमा पर्दै गयो । सरकारी उपेक्षा, संरक्षणको अभाव र समयको प्रभावले एक समय यो दरबार भग्नावशेषमा परिणत भयो। अहिले पुनर्निर्माणले नयाँ आशा जगाएको भए पनि विगतका कमजोरी दोहोरिन नदिन सचेत हुनुपर्ने आवश्यकता छ।
नेपालमा धेरै ऐतिहासिक सम्पदाहरू पुनर्निर्माण त गरिन्छन्, तर दीर्घकालीन संरक्षण र व्यवस्थापन अभावमा फेरि जीर्ण बन्दै गएका उदाहरण थुप्रै छन्। निर्माण सम्पन्न भएपछि संरचनाको नियमित मर्मत, सुरक्षा व्यवस्था, पर्यटक व्यवस्थापन, ऐतिहासिक सामग्रीको संरक्षण तथा प्रचारप्रसारका कामहरू पनि उत्तिकै महत्वपूर्ण हुन्छन्। यदि यी पक्षलाई बेवास्ता गरियो भने करोडौं रुपैयाँ खर्च गरेर बनाइएको संरचना केही वर्षमै पुनः समस्यामा पर्न सक्छ।
संघीय सरकार, पुरातत्व विभाग, बागमती प्रदेश सरकार, कमलामाई नगरपालिका तथा स्थानीय समुदायबीच स्पष्ट समन्वय आवश्यक छ । पुनर्निर्माण अलपत्र हुन र सरोकारवाला निकायले चासो नदिनुले यसको संरक्षण कसले गर्ने , कसले सञ्चालन गर्ने र कसरी स्रोत व्यवस्थापन गर्ने भन्ने विषयमा स्पष्ट कार्ययोजना सार्वजनिक गरिनुपर्छ। स्थानीय समुदायलाई समेत संरक्षण अभियानमा सहभागी गराउन सके सम्पदाप्रति अपनत्व बढ्नेछ।
रानीदरबारको पुनर्निर्माण महत्वपूर्ण उपलब्धि हो, तर त्यसलाई दिगो बनाउन संरक्षणको बलियो आधार आवश्यक छ। इतिहासको गौरव पुनः निर्माण गरेर मात्र पुग्दैन, त्यसलाई भावी पुस्तासम्म सुरक्षित रूपमा हस्तान्तरण गर्नु अझ ठूलो जिम्मेवारी हो।

प्रतिकृया दिनुहोस
↑