Close This

घ्याङलेख गाउँपालिकाका अध्यक्षले सरकारी गाडी फिर्ता गरे

सिन्धुली/जिल्लाको घ्याङलेख गाउँपालिकाका अध्यक्ष जगतबहादुर भोलनले गाउँपालिकाले उपलब्ध गराएको सरकारी सवारी साधन फिर्ता गरेका छन् । भोलनले पालिका प्रमुख प्रशासकिय अधिकृतलाई बा २ झ ३६८० नम्बरको सवारी साधन बुझाएका हुन । प्रशासकिय अधिकृतलाई सम्बोधन गर्दै पत्र सहित सवारी साधन फिर्ता गरेको बताएका छन । 
स्थानीय सरकारमा प्रशासनिक खर्च बढ्दै गएको र नागरिकहरुमा तिब्र असन्तुष्टि बढ्न थालेकाले आफुले पालिकाले उपलव्ध गराएको र कानुन अनुसार पाएको सवारी साधन पालिकालाई फिर्ता गरेको बताएका छन । आफुले प्रयोग गर्दै आएको सवारी साधनले पालिकाका गर्भवती तथा विरामीहरु बोक्नलाई प्रयोग गर्ने उनले बताए । 
खर्च घटाउने र स्थानीय सरकारलाई मितव्ययी बनाउने उद्देश्यका साथ आफुले यस्तो  निर्णय लिएका भोलनले बताए । अध्यक्ष भोलनले भने, “अहिले जनप्रतिनिधिप्रति जनतामा वितृष्णा बढ्दै गएको छ। जनताको करको पैसा विलासितामा खर्च गर्नु नेतृत्वको दायित्व होइन। म जनताको विश्वास फर्काउन चाहन्छु, त्यसैले मसँग रहेको सरकारी गाडी फिर्ता गरेको हुँ।”
स्थानीय सरकारको प्राथमिकता विकास, सेवा र पारदर्शिता हुनुपर्नेमा जनप्रतिनिधि नै सवारी साधन, भत्ता र सुविधा बढाउन अग्रसर देखिन थालेपछि आफुले यस्तो कदम चालेको उनले बताए । पञ्चायत कालमा होस वा बहुदल हुदाँ पनि आफु जनप्रतिनिधी भएको र त्यसवेला कुनै पनि सुविधा नहुदाँ पनि जनताको काम गरेको स्मरण गराउदै उनले अहिले किन सुविधा चाहियो, भोलनले भने । अहिले त राज्यले महिनाको ३० हजार समेत दिएको छ । उनले थपे, “गाउँपालिकाले विकास निर्माणका लागि पर्याप्त स्रोत जुटाउन कठिनाइ भोगिरहेको बेला सुविधा लिनु जनप्रतिनिधिको नैतिक जिम्मेवारीसँग मेल खाँदैन।”
अध्यक्ष भोलनका अनुसार गाउँपालिकाले विकास निर्माण र जनसेवाका क्षेत्रमा खर्च बढाउँदै गैर–आवश्यक विलासी खर्च कटौती गर्ने नीतिलाई पालिकाले अगाडी बढाउने छ । २०७४साल देखि आफुले प्रयोग गर्दै आएको सवारी साधन अध्यक्षले गाउँपालिकाको नाममा फिर्ता गरी प्रशासनिक प्रयोजनका लागि राख्ने अध्यक्ष भोलनले बताए । “जनताका करबाट किनिएका सवारी साधनहरू विकास र सेवा कार्यमा प्रयोग हुनुपर्छ, व्यक्तिका सुविधा मात्रका लागि होइन,” अध्यक्ष भोलनले भने । जनप्रतिनिधीले सुविधाभन्दा कामलाई प्राथमिकता दिने नीति लिने हो भने जनतामा बढेको वितृष्ण हराउनले उनले बताए । 
स्थानीयहरूका अनुसार, अध्यक्षको यो कदमले जनप्रतिनिधि र नागरिकबीचको सम्बन्धमा सकारात्मक सन्देश दिएको छ । “अध्यक्षले सरकारी गाडी फिर्ता गर्नु जनताको पैसाको सम्मान हो। यस्तो उदाहरण अरू पालिकामा पनि देखिनु जरुरी छ, स्थानीयले भने” ।
घ्याङलेख गाउँपालिकाले हाल विकास बजेटको ठूलो हिस्सा पूर्वाधार, शिक्षा र स्वास्थ्य क्षेत्रमा केन्द्रित गरेको अध्यक्ष भोलनले बताए । अध्यक्ष भोलनले भनेका छन्, “हामी जनतासँगको जवाफदेही शासनमा विश्वास गर्छौं। जनप्रतिनिधिले जनताको करबाट प्राप्त सम्पत्तिको सदुपयोग गर्नुपर्छ भन्ने सोचका साथ गाडी फिर्ता गरेको हुँ।” सरकारी गाडी फिर्ता गर्ने यो कदमले स्थानीय तहमा मितव्ययिता, उत्तरदायित्व र पारदर्शी शासन व्यवस्थाको अभ्यासलाई बल पुर्‍याउने छ ।

प्रतिकृया दिनुहोस
↑